चन्द्रपुर–१० मा देवप्रसाद तिमल्सिनाको घरदैलो, मतदातासँग विकासका एजेन्डा प्रस्तुत

रौतहट, १४ फागुन । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ का उम्मेदवार देवप्रसाद तिमल्सिनाले चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
बिहीबार वडाका विभिन्न गाउँ तथा टोलमा पुगेर तिमल्सिनाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको हो। घरदैलोका क्रममा उहाँले क्षेत्रको समग्र विकास, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तिमल्सिनाले विगतमा क्षेत्रले भोग्दै आएका समस्यालाई समाधान गर्न स्पष्ट योजना आवश्यक रहेको उल्लेख गर्दै जनताको साथ र विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताउनुभयो। स्थानीयवासीसँगको संवादमा उहाँले किसानका समस्या, सिँचाइ, खानेपानी तथा युवा स्वरोजगारका विषयमा समेत छलफल गर्नुभएको थियो।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार तिमल्सिनाले क्षेत्रका अन्य वडाहरूमा पनि घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिने जनाइएको छ।

ताजा समाचार

Related Articles