गौर–६ सवगढामा साम्प्रदायिक तनावपछि ६ बुँदे सहमति, अवस्था सामान्यतर्फ

राैतहट ९ फागुन
रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा उत्पन्न साम्प्रदायिक तनाव जिल्ला प्रशासनको पहलपछि समाधानतर्फ उन्मुख भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको सर्वपक्षीय छलफलबाट दुवै समुदायबीच ६ बुँदे सहमति कायम गरिएको हो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा सम्पन्न वार्ता सौहार्दपूर्ण वातावरणमा टुंगिएको जनाइएको छ। सहमतिमा सामाजिक सद्भाव कायम राख्ने, संयमता अपनाउने, अफवाह नफैलाउने तथा फागुन २१ गते हुने निर्वाचनमा शान्तिपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कसरी चर्कियो विवाद?
बिहीबार राति बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढातर्फ आइरहेको विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाने क्रममा विवाद सुरु भएको थियो। सत्यनारायण साहकी छोरीको विवाह जन्ती र स्थानीय मुस्लिम समुदायबीच भनाभन हुँदा स्थिति झडपमा परिणत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रारम्भिक झडपमा दुवै पक्षका गरी ६ जना घाइते भएका थिए। घाइतेहरूलाई प्रादेशिक अस्पताल गौरमा उपचार गराइएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दोस्रो दिन पुनः झडप
शुक्रबार बिहान करिब सवा ९ बजे पुनः ४–५ सय जनाको भीड जम्मा भई दोहोरो झडप सुरु भएको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरी सक्रिय रूपमा परिचालित भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थिति नियन्त्रणका लागि १२ राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन् । दोस्रो झडपमा ६ स्थानीय र २ प्रहरी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र अधिकांशलाई उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ।
सुरक्षा कडा, प्रशासनको अपिल
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न पुनः अपिल गरेको छ । स्थानीयस्तरमा संवाद र सहमतिसँगै क्षेत्रको अवस्था सामान्य बन्दै गएको प्रशासनको दाबी छ ।

ताजा समाचार

Related Articles