रौतहट झडप : ६ बुँदे सहमतिपछि स्थिति सामान्य बन्यो 

रुपेन्द्र पटेल
रौतहट, ९ फागुन । रौतहटमा दुई समुदायबीच भएको झडपपछि ६ बुँदे सहमति भई स्थिति सामान्य बनेको छ ।
रौतहटको गौर नगरपालिका–६ सबगढामा विवाहको जन्तीमाथि ढुंगा प्रहार हुँदा केही सर्वसाधारणसहित सुरक्षाकर्मी घाइते हुनुभएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय सत्य नारायण साहकी छोरीको विवाहका लागि बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढातर्फ आइरहेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो ।
विवाद चर्किँदै जाँदा दुवै पक्षबीच ढुंगा हानाहान भई झडपमा परिणत भएको थियो । बिहीबार राति भएको झडपमा ६ जना घाइते हुनुभएको र उहाँहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहट तथा सशस्त्र प्रहरीको टोली परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको थियो । तर सोही विषयलाई लिएर शुक्रबार बिहान करिब सवा ९ बजे पुनः ४०० देखि ५०० जनाको भीड जम्मा भई झडप सुरु भएको थियो । स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएपछि प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
स्थिति नियन्त्रणमा लिन १२ राउण्ड ब्ल्याङ्क फायर तथा ४० राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप वस्यालले बताउनुभयो । सो क्रममा स्थानीयसहित दुई जना प्रहरीसमेत घाइते हुनुभएको र सबैको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । उपचारपछि केही घाइते डिस्चार्ज भइसकेको उहाँले बताउनुभयो ।
घटनापछि जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा शुक्रबार दिउँसो ३ बजेदेखि दुवै पक्षका प्रतिनिधिबीच वार्ता सुरु भएको थियो । वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भई ६ बुँदे सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहमतिको आधारमा सामाजिक सद्भाव कायम राख्ने, आपसी समझदारी बढाउने तथा आउँदो २१ गते हुने निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । प्रशासनले सबैलाई संयमता अपनाई सामाजिक एकता कायम राख्न आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles