रौतहट-४ : रामजी साहको पक्षमा जनलहर बढ्दै

रौतहट, ९ फागुन । रौतहट क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी दिनानुदिन बढ्दै गएको छ। यसैक्रममा रामजी साहको घरदैलो कार्यक्रम अझ आक्रामक र व्यवस्थित ढंगले अघि बढिरहेको देखिएको छ।  नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका साहले फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निरन्तर जनसम्पर्क अभियानलाई तीव्रता दिएका छन्।
 विशेषगरी चन्द्रपुर नगरपालिका–७ बन बौउहरी क्षेत्रमा भएको घरदैलो कार्यक्रममा मतदाताहरूको उल्लेखनीय उपस्थिति र उत्साह देखिएको थियो। उम्मेदवार साह सो क्षेत्रमा पुग्दा स्थानीय बासिन्दाहरूले फूलमाला, खादा र मिठाई खुवाएर भव्य स्वागत गरेका थिए।  “मतदान गरेर जिताउंछौं” भन्ने नारासहित व्यक्त गरिएको प्रतिबद्धताले त्यहाँको चुनावी माहोल निकै तातेको संकेत दिएको छ। 
घरदैलो अभियानका क्रममा साहले स्थानीय बासिन्दासँग विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, सडक तथा पूर्वाधार विकासलगायतका विषयमा प्रत्यक्ष संवाद गरेका थिए। उनले क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना तयार रहेको उल्लेख गर्दै आफू विजयी भएमा जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहने बताएका छन्। 
स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता, महिला समूहको सक्रियता तथा ज्येष्ठ नागरिकहरूको समर्थनले अभियानलाई थप ऊर्जा दिएको एमाले कार्यकर्ताहरूको दाबी छ। घरदैलो कार्यक्रम केवल औपचारिकता नभई जनताको घरआँगनमै पुगेर समस्या सुन्ने र समाधानको प्रतिबद्धता जनाउने माध्यम बनेको सहभागीहरूको भनाइ छ।
रौतहट–४ मा बढ्दो जनसमर्थन र सक्रियताले यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक र रोचक बन्ने संकेत देखिएको छ। उम्मेदवार साहको निरन्तरको जनसम्पर्क, मतदातासँगको आत्मीय व्यवहार तथा संगठनात्मक मजबुतीले चुनावी समीकरणमा नयाँ आयाम थपेको स्थानीय विश्लेषकहरूको आकलन छ।

ताजा समाचार

Related Articles