रौतहट ९ फागुन । गुजरा नगरपालिका–३ सिमरीमा आयोजित विशेष राजनीतिक कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टीमा विधिवत रूपमा प्रवेश गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर–३ मा पार्टीप्रति जनसमर्थन तीव्र रूपमा बढ्दै गएको देखिएको छ।
कार्यक्रममा आम जनता पार्टीका पूर्व स्थायी समिति सदस्य पलट चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का निर्वाचित वडा अध्यक्ष गजेन्द्र चौधरी, फतुवा विजयपुर नगरपालिका–१० का पूर्व वडा अध्यक्ष मनोज चौधरी, युवा नेता रुपेश दाससहित सयौँको संख्यामा नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार पुनम यादव, केन्द्रीय सदस्य वहिद अंसारी, प्रदेश सदस्य विनदेश्वर राय यादव तथा फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्याशी अजय तिमल्सिनाले खादा र माला लगाएर भव्य स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी नेताहरूले प्रतिनिधिसभा सदस्य उम्मेदवार पुनम यादवलाई तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टी संगठन सुदृढीकरण र जनताको हितमा सक्रिय भूमिका खेल्ने दृढ संकल्प व्यक्त गरे।
आयोजकका अनुसार इतिहासमै पहिलोपटक कुनै राष्ट्रिय पार्टीबाट प्रतिनिधिसभा सदस्यमा महिला उम्मेदवार बनेकी पुनम यादवप्रति जनविश्वास उल्लेखनीय रूपमा बढ्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर–३ मा नेपाल कम्युनिस्ट पार्टीको समर्थन दिनप्रतिदिन मजबुत बन्दै गएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तारा छापमा मतदान गरी पुनम यादवलाई भारी मतले विजयी बनाउने मतदाताहरूले बताएका छन्। आफू निर्वाचित भएलगत्तै पहिलो वर्षदेखि नै क्षेत्रमा विकासको लहर ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार पुनम यादवले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्ने बताएकी छिन्।
उनले क्षेत्रमै सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण, अन्तर्राष्ट्रिय लगानीमा ठूलो उद्योग स्थापना गरी करिब १५ हजार जनालाई रोजगारी दिने महत्वाकांक्षी योजना समेत सार्वजनिक गरेकी छिन्।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले सिमरी क्षेत्रको राजनीतिक माहोल थप उत्साहपूर्ण बनेको आयोजकले जनाएको छ।

