रुपेन्द्र पटेल
रौतहट, ८ फागुन । रौतहटको सदरमुकाम गौरस्थित गौर नगरपालिका–४ दाल मिल नजिक गौर–चन्द्रपुर सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
शुक्रबार चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको यात्रुवाहक बस आफैं अनियन्त्रित भई सडकछेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। बसमा करिब ४० जना यात्रु सवार रहेका थिए।
दुर्घटनामा गढीमाई नगरपालिका–१ बस्ने ३२ वर्षीय रंजय यादवको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ। बारा, कलैया उपमहानगरपालिका–१ भवरा टोल बस्ने ३० वर्षीय नुर महम्मदको टाउको र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी भारत गमडिया जिल्ला बस्ने ४४ वर्षीय देव नारायण बैठाको दाहिने हातमा चोट लागेको र सोही स्थानका २० वर्षीय सुभम कुमार बैठाको हातमा सामान्य चोट लागेको उनले बताए।
यमुनामाई गाउँपालिका–३ मलहनिया बस्ने ४२ वर्षीय विनोद बैठाको दाहिने हात, नाक र खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि आँखा अस्पताल पुरेनवा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।
भारत शिवहर जिल्ला बस्ने ५५ वर्षीय ललन साहको अनुहार र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ। गरुडा नगरपालिका–४ बस्ने २६ वर्षीय निरज कुमार गुप्ताको दाहिने कान र हातमा चोट लागेको र उनलाई थप उपचारका लागि वीरगञ्जतर्फ पठाइएको उनले बताए।
भारत सितामढी जिल्ला बस्ने ६० वर्षीय लसिभ सहनीको अनुहारमा सामान्य चोट लागेको छ भने मकवानपुर, हेटौडा उपमहानगरपालिका–४ बस्ने ४२ वर्षीया सुनिता केशरीको दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। बस चालक चन्द्रपुर नगरपालिका–८ बस्ने २४ वर्षीय रिजवान खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

