राैतहट ५ फागुन
रौतहट क्षेत्र नं. ४ मा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी गतिविधि दिनानुदिन सक्रिय बन्दै गएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामजी साहले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्नुभएको छ। निर्वाचन आयोग ले निर्धारण गरेको आचारसंहिता र समयसीमाभित्रै रहेर प्रचार कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ।
प्रचार–प्रसारको दोस्रो दिन बृन्दावन नगरपालिका वडा नं. १ र २ अन्तर्गत पर्ने रमौला र धनगढी क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरिएको थियो। सो क्रममा स्थानीय मतदाताले उम्मेदवार साहलाई स्वागत गर्दै शिक्षा, स्वास्थ्य सेवा सुधार, सडक विस्तार तथा रोजगारीका विषयमा आफ्ना अपेक्षा राखेका थिए। साहले क्षेत्रको समग्र विकासका लागि ठोस योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै एमालेले क्षेत्र नं. ४ मा संगठनात्मक तयारी र जनसम्पर्क अभियानलाई व्यवस्थित बनाएको जनाएको छ। उम्मेदवार साहले पार्टीको चुनाव चिन्ह “सूर्य” मा मतदान गर्न आग्रह गर्दै राजनीतिक स्थायित्व र समृद्धिका लागि एमाले नै उपयुक्त शक्ति भएको दाबी गर्नुभएको छ।
घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य आरती भण्डारी, बृन्दावन नगरपालिकाका मेयर प्रत्याशी प्रेमशंकर यादव, उद्वव रेग्मी, रामकल्याण यादवलगायत स्थानीय नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। उम्मेदवार साहले प्राप्त जनसमर्थनले आफू थप उत्साहित बनेको र निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभएको छ ।

