रौतहट ५ फागुन
चन्द्रपुर नगरपालिका–६ मा खुल्ला रूपमा मासु बिक्री भइरहेका पसलहरूको वडाध्यक्ष सहदेव केसीले अनुगमन गर्नुभएको छ। बजार क्षेत्रमा मासु खुल्ला राखी बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा जोखिम बढ्ने भन्दै उहाँले व्यवसायीलाई तत्काल सुधार गर्न आग्रह गर्नुभएको हो । अनुगमनका क्रममा मासु ढाकेर बिक्री गर्न, पसल परिसर सफा राख्न, फोहोर व्यवस्थापन गर्न तथा स्थानीय मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइएको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष केसीले उपभोक्ता स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आवश्यक सुधार नगरे कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिनुभएको छ। बजारलाई व्यवस्थित र स्वच्छ बनाउन वडा कार्यालयले नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

