रौतहट ३ फागुन
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–४ अन्तर्गत गौर–गंगापिप्रा सडकखण्डको झाँझपुल नजिक आज बिहान भएको मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । गंगापिप्राबाट गौरतर्फ आइरहेको BR 30 U 1371 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको सिसौंको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठ्ठा निवासी २४ वर्षीय जितेन्द्र साह र मोटरसाइकलमा सवार उनकी २२ वर्षीया श्रीमती गम्भीर घाइते भएका थिए । टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका दुवैलाई उपचारका लागि तत्काल अस्पताल पुर्याइएको थियो । तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी घटनास्थलमा भेला भएका थिए। प्रहरीले सवारी साधन नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको बताएको छ ।

