मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री स्वयं मधेश झर्नुपर्छ : योगेन्द्र राय यादव

रौतहट, १५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले मधेशमा देखिएको पछिल्लो तनावको समाधान सिंहदरबारबाट मात्र सम्भव नहुने बताएका छन्।

उनले सरकारलाई काठमाडौंमा मधेशका केही नेतासँग मात्र वार्ता गरेर समस्याको निकास खोज्नुभन्दा आन्दोलन प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष संवाद गर्न आग्रह गरेका छन्।

यादवले मधेशमा विकसित पछिल्लो अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि प्रधानमन्त्री स्वयं मधेश आउनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यादवले काठमाडौंमा बसेर वा मधेशका सीमित नेतासँग मात्रै छलफल गरेर वर्तमान समस्याको दीर्घकालीन समाधान सम्भव नरहेको उल्लेख गरेका छन्।

उनका अनुसार आन्दोलनको स्वरूप स्थानीय जनभावनासँग जोडिएको भएकाले यसको वास्तविक अवस्था बुझ्न सरकार प्रभावित क्षेत्रमा पुग्न आवश्यक छ।

उनले सरकारका सुरक्षा तथा प्रशासनिक संयन्त्रलाई प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्दै सबै सरोकारवालासँग घनिभूत संवाद गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सामाजिक सद्भाव बिगार्ने उद्देश्यले असामाजिक तत्वहरू सक्रिय रहेको दाबी गर्दै उनले सरकारले समयमै संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

यादवले धार्मिक र क्षेत्रीय राजनीति अत्यन्त संवेदनशील विषय भएकाले त्यसलाई हल्का रूपमा लिन नहुने बताएका छन्। यस्ता विषय समयमै सम्बोधन गर्न नसके परिस्थिति थप जटिल बन्न सक्ने चेतावनी पनि उनले दिएका छन्।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै यादवले मधेशको वर्तमान अवस्था सिंहदरबारबाट मात्र नियालेर समाधान नहुने उल्लेख गर्दै प्रभावित क्षेत्रमा पुगेर स्थानीय समुदाय, आन्दोलनरत पक्ष तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका छन्।

उनका अनुसार प्रत्यक्ष संवाद, विश्वासको वातावरण र व्यवहारिक पहलबाट मात्रै मधेशमा देखिएको तनावको दीर्घकालीन समाधान सम्भव हुनेछ।

ताजा समाचार

Related Articles