रौतहट १५ साउन
रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु र वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रवेश प्रसाद कुर्मीको निर्वाचित पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेको आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ बमोजिम दुवै जनप्रतिनिधिको पद स्वतः रिक्त भएको हो ।

आयोगका अनुसार एमाले केन्द्रीय सचिवालयले प्रेमलाल साह कानु र राम प्रवेश प्रसाद कुर्मीले पार्टीको विधानविपरीत गतिविधि गर्दै दल परित्याग गरेको निर्णयको प्रतिलिपि आयोगमा पठाएको थियो । सोही आधारमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूको निर्वाचित पद रिक्त गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगले एकैपटक देशभरका विभिन्न स्थानीय तहका छ जना जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ । तीमध्ये रौतहटका नगर प्रमुख प्रेमलाल साह कानु र वडा अध्यक्ष राम प्रवेश प्रसाद कुर्मी पनि रहेका छन् । यस निर्णयसँगै देवाही गोनाही नगरपालिकाको नेतृत्वमा नयाँ राजनीतिक समीकरणको चर्चा सुरु भएको छ। अब रिक्त नगर प्रमुख र वडा अध्यक्ष पद पूर्तिका लागि प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

