रौतहटका सबै राजनीतिक दलको संयुक्त अपिल : धार्मिक सद्भाव र शान्ति कायम राख्न आग्रह

राैतहट १५ साउन
सुनसरी, सिरहा लगायत विभिन्न जिल्लामा हालै भएका घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै रौतहटका सम्पूर्ण राजनीतिक दलले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्न संयुक्त अपिल जारी गरेका छन् । शुक्रबार जारी संयुक्त विज्ञप्तिमा सामाजिक सञ्जाल वा सार्वजनिक स्थलमार्फत भ्रामक सूचना फैलाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा धार्मिक वा साम्प्रदायिक भावना भड्काउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै नागरिकलाई आग्रह गरिएको छ । विज्ञप्तिमा फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप र युट्युब लगायतका सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, पुराना घटनालाई वर्तमानसँग जोडेर भ्रम सिर्जना गर्ने तथा समुदायबीच वैमनस्य बढाउने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । राजनीतिक दलहरूले रौतहटमा लामो समयदेखि कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र विविधताबीचको एकतालाई कुनै पनि हालतमा कमजोर हुन नदिने प्रतिबद्धता जनाएका छन्। साथै सबै धर्म, समुदाय, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, युवा र सञ्चारकर्मीलाई संयमता अपनाउँदै सामाजिक एकता सुदृढ बनाउन सक्रिय भूमिका खेल्न अपिल गरेका छन् । संयुक्त विज्ञप्तिमा विगतमा जिल्लामा देखिएका असहज अवस्थासमेत आपसी सहमति र संवादमार्फत समाधान गरिएको स्मरण गराउँदै अहिले पनि कुनै उक्साहटपूर्ण गतिविधिमा संलग्न नहुन तथा समाजमा उत्तेजना फैलाउने कार्यक्रम नगर्न सबै पक्षसँग आग्रह गरिएको छ । राजनीतिक दलहरूले रौतहटलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुताको नमुना जिल्लाका रूपमा कायम राख्न साझा प्रतिबद्धता व्यक्त गर्दै शान्ति, सद्भाव र भाइचाराको वातावरण जोगाउन सम्पूर्ण नागरिकसँग सहयोगको आह्वान गरेका छन्

ताजा समाचार

Related Articles