राैतहट १५ साउन
चन्द्रपुर नगरपालिकाभरि रासायनिक मलखाद वितरणमा पारदर्शिता कायम गर्न तथा वास्तविक किसानलाई सहज रूपमा मल उपलब्ध गराउन माग गर्दै किसानको तर्फबाट सम्बन्धित निकायमा ज्ञापनपत्र पेस गरिएको छ ।
चेतनागरका स्थानीय समाजसेवी देव प्रसाद फुयाँलको नेतृत्वमा किसान प्रतिनिधिमण्डलले चन्द्रपुर नगरपालिकाका उपप्रमुख, कृषि विकास शाखा, इलाका प्रशासन कार्यालयका उपसचिव तथा वडा नं. ४ का वडा अध्यक्षसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा धान खेतीको महत्वपूर्ण समयमा नगरपालिकाभरिका किसानले आवश्यक रासायनिक मल सहज रूपमा प्राप्त गर्न नसकेको, वितरण प्रक्रिया पारदर्शी नभएको तथा वास्तविक किसानले पर्याप्त मात्रामा मल नपाएको गुनासो उल्लेख गरिएको छ। साथै पहुँच र प्रभावका आधारमा मल वितरण भएको भन्ने गुनासोप्रति निष्पक्ष छानबिन गर्न माग गरिएको छ । किसानहरूले हाल सञ्चालनमा रहेको डिलर तथा डिपो प्रणालीको प्रभावकारिताको समीक्षा गरी वितरण प्रक्रियालाई थप पारदर्शी, किसानमैत्री र उत्तरदायी बनाउन आग्रह गरेका छन्। आवश्यक परे स्थानीय सहकारी संस्थामार्फत मलखाद वितरण गर्ने व्यवस्था लागू गर्न पनि सम्बन्धित निकायसँग माग गरिएको छ । ज्ञापनपत्रमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, चर्को मूल्यमा मल बिक्री गर्ने तथा वितरणमा हुने अनियमिततामाथि कडा अनुगमन गरी कानुनबमोजिम कारबाही गर्न पनि माग गरिएको छ । किसान प्रतिनिधिहरूले खेतीको संवेदनशील समयमा मलखादको अभावले कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने भएकाले समस्या तत्काल समाधान गरी चन्द्रपुर नगरपालिकाभरिका सबै किसानलाई समान, सहज र पारदर्शी ढंगले मलखाद उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

