रौतहट २९ माघ
रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दीमा राखिएको सालको काठमा आगजनी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । समूहले व्यवस्थापन गरी बिक्रीका लागि तयारी अवस्थामा राखेको साल जातको काठमा अज्ञात व्यक्तिले आगो लगाएको प्रारम्भिक आशंका गरिएको छ। आगलागीबाट ठूलो परिमाणमा काठ जलेर नष्ट भएको जनाइएको छ भने आर्थिक क्षति करोडौँमा पुग्ने अनुमान गरिएको छ । घटनालगत्तै स्थानीय बासिन्दा, वन उपभोक्ता समूहका पदाधिकारी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। यद्यपि, आगलागीबाट काठमा गम्भीर क्षति पुगेको वन कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका अनुसार घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान सुरु गरिएको छ। “किन र कसले घाटगद्दीमा आगजनी गर्यो भन्ने विषयमा विस्तृत छानबिन भइरहेको छ,” कार्यालय स्रोतले जनाएको छ ।सामुदायिक वन स्रोतको संरक्षण र व्यवस्थापनमा संलग्न उपभोक्ताहरूले दोषीलाई यथाशीघ्र पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्। घटनाले सामुदायिक वनको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको स्थानीयहरूको भनाइ छ ।

