रौतहट २९ माघ
नेकपा एमाले रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार रामजी साहलाई फुलबारीका स्थानीयवासीले परम्परागत कृषि औजार हलोजुवा र डोको उपहारस्वरूप प्रदान गरेका छन् । स्थानीयका अनुसार एमाले गरिब तथा किसानको सुख–दुःखमा साथ दिने पार्टी भएकाले किसान जीवनसँग जोडिएका प्रतीकात्मक सामग्री उपहार दिइएको हो । “हाम्रो जीवन हलोजुवा र डोकोमै अडिएको छ, त्यसैले जनताको नेता पनि त्यही माटो र पसिनासँग जोडिएको हुनुपर्छ,” एक स्थानीयले बताउनु भयाे । उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीयवासीले सुकुम्बासी समस्या, अव्यवस्थित बसोबास र जग्गाधनी पुर्जा वितरणजस्ता दीर्घकालीन समस्याको शीघ्र समाधान गर्न आग्रह गरेका थिए। उनीहरूले निर्वाचित भएमा यस्ता आधारभूत समस्यालाई प्राथमिकतामा राख्न उम्मेदवार साहसँग अपिल गरेका छन् । कार्यक्रममा उम्मेदवार साहले जनताको भावना र विश्वासलाई सम्मान गर्दै किसान र विपन्न वर्गको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

