रौतहट १५ असार
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारमा असार १५ को अवसरमा परम्परागत दही–चिउरा खाने दिवस उत्साहपूर्वक मनाइएको छ ।
जय चौतारी दुग्ध उत्पादन सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय दुग्ध उत्पादनको प्रवर्द्धन, किसानको सम्मान तथा नेपाली मौलिक संस्कृति संरक्षणको सन्देश दिँदै सहभागीहरूले सामूहिक रूपमा दही–चिउरा सेवन गराएकाे आयाेजक संस्थाका अध्यक्ष दिपेन्द्र न्याैपानेले तराई पाेष्टलाई बताउनु भयाे । कार्यक्रममा चन्द्रपुर नगरपालिका–३ का वडा अध्यक्ष बोधनाथ देवकोटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुका साथै वडाभित्रका विभिन्न संघ–संस्था, सामाजिक अगुवा, सहकारीकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । असार १५ लाई केवल परम्परागत पर्वका रूपमा मात्र नभई कृषि, पशुपालन तथा दुग्ध उत्पादनसँग जोडिएको महत्वपूर्ण दिनका रूपमा मनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । स्थानीय उत्पादनको प्रयोग बढाउँदै किसानलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास समेत व्यक्त गरिएको थियो ।
सहकारीका पदाधिकारीहरूले स्थानीय दुग्ध व्यवसायलाई थप सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा कृषि प्रवर्द्धनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
असार १५ लाई नेपालभर किसानको मेहनतको सम्मान गर्दै दही–चिउरा खाने परम्परासँगै राष्ट्रिय धान दिवसका रूपमा पनि मनाइने गरिन्छ । गैडाटारमा आयोजित यस कार्यक्रमले स्थानीय संस्कृति, कृषि र सामाजिक एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन् ।

