रौतहट, १५ असार
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैँडाटारमा सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् ।
शिविरमा आधुनिक डिजिटल एक्स–रे प्रविधिमार्फत छातीसम्बन्धी रोगको पहिचानका लागि परीक्षण गरिएको थियो। साथै रगत, पिसाब र खकारको परीक्षणसमेत निःशुल्क गरिएको आयोजकले जनाएको छ।

विशेषगरी क्षयरोग, फोक्सो तथा अन्य छातीसम्बन्धी रोगको समयमै पहिचान गरी आवश्यक उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। शिविरप्रति स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। निःशुल्क रूपमा आधुनिक उपकरणबाट स्वास्थ्य परीक्षण गर्ने अवसर पाएकामा सहभागीहरूले खुसी व्यक्त गरेका छन्। स्वास्थ्यकर्मीका अनुसार यस्ता शिविरले रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न मद्दत पुग्ने भएकाले समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

