करण मिश्र
रौतहट १५ असार
रौतहटका स्थानीय तहलाई पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागी कार्ययोजनाका लागि जनप्रतिनीधि संग छलफल गरिएको छ । जिल्ला स्तरीय बहुक्षेत्रीय पोषण कार्यक्रमको समीक्षा तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्ययोजनाका लागि दुई दिन सम्म छलफल गरिएको पोषण परियोजना संयोजक भाग्यनारायण महतोले दिए । उनका अनुसार कार्यशालाबाट तयार गरिएको कार्ययोजनाले जिल्लाका सबै स्थानीय तहमा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ ।केयर नेपाल, आइडिइ नेपाल र संरक्षण नेपालको समन्वयमा सञ्चालित पोषण परियोजना अन्तर्गत प्रदेश नीति तथा योजना आयोगको आयोजनामा चन्द्रनिगाहपुर उक्त कार्यक्रम भएको हो । जिल्लाका १८ वटै स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, कृषि तथा पशु सेवा शाखाका प्रमुखहरूको सहभागिता कार्ययोजना बनाइएको परियोजना संयोजक महतो बताए । पालिकाहरूले आ–आफ्ना क्षेत्रका पोषणसम्बन्धी गतिविधि, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए ।बहुक्षेत्रीय पोषण योजना तथा पोषणमैत्री स्थानीय शासन कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबीच अनुभव आदान–प्रदान, समीक्षा तथा आगामी कार्ययोजना तयार गर्न सहजता हुने उनको भनाइ छ । जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादव रहेका थिए भने कार्यक्रमको अध्यक्षता प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहलेले गरेका हुन ।
कार्यक्रममा संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा, जिल्ला स्वास्थ्य कार्यालय रौतहटका राजेश सिंह, कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र कुर्मी, केयर नेपालका पदम लम्साल, पुनम यादव तथा श्री भगवान जयसवाल लगायतले पोषण सुधार, बहुक्षेत्रीय समन्वय र स्थानीय सरकारको भूमिकाबारे आफ्नो धारणा राखेका थिए ।
्
वक्ताहरूले पोषणसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि स्वास्थ्य, कृषि, पशु सेवा, शिक्षा, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याउँदै स्थानीय तहको सक्रियताले पोषणमैत्री शासनलाई थप प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।

