रौतहट, २८ माघ
जङ्गलसहैया सब–डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले अवैध रूपमा ओसारपसार गरिँदै गरेको साल जातको काठ बरामद गरेको छ । गएराति करिब ९:३० बजे गरिएको गस्तीका क्रममा टोलीले २ थान सालका गोलिया काठसहित १ थान सुमो र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको हो। सुराकीका आधारमा गरिएको चेकजाँचका क्रममा काठ ओसारपसार भइरहेको अवस्थामा सवारी साधनसहित काठ बरामद गरिएको जनाइएको छ । घटनास्थलबाट सवारी चालकहरू भने फरार रहेका छन्। फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको वन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख वन अधिकृत विनोद जेठाराका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। बरामद काठ र सवारी साधनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन कार्यालयमा राखिएको छ । वन क्षेत्रमा हुने अवैध कटानी तथा तस्करी नियन्त्रणका लागि संयुक्त गस्तीलाई अझ कडा बनाइने पनि कार्यालयले जनाएको छ ।

