रौतहट, १६ असार
राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत रौतहट जिल्लामा सम्पन्न स्थलगत गणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय, रौतहटले आयोजना गरेको सुपरिवेक्षक तथा गणक सम्मान कार्यक्रममा उक्त प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी लेखनाथ खतिवडा, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू तथा जिल्ला आर्थिक गणना अधिकारी सुमन्त कुमार यादवलगायतको उपस्थिति रहेको थियो । गणना कार्य सफल बनाउन योगदान पुर्याएका सुपरिवेक्षक तथा गणकहरूलाई कार्यक्रममा अनुभव प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
सार्वजनिक प्रारम्भिक नतिजाअनुसार रौतहट जिल्लामा कुल २१ हजार ७७० आर्थिक प्रतिष्ठान दर्ता भएका छन । याे संख्या २०७५ सालको आर्थिक गणनामा रहेको १२ हजार ७९० प्रतिष्ठानको तुलनामा करिब ७० प्रतिशत बढी हो। यसले पछिल्ला वर्षहरूमा जिल्लामा आर्थिक तथा व्यावसायिक गतिविधि उल्लेखनीय रूपमा विस्तार भएको संकेत गरेको छ ।
त्यस्तै, गणना गरिएका प्रतिष्ठानहरूमा ५८ हजार ५०४ जना जनशक्ति संलग्न रहेको तथ्याङ्कले देखाएको छ । तीमध्ये ७१.६ प्रतिशत पुरुष र २८.४ प्रतिशत महिला रहेका छन्, जसले जिल्लाको आर्थिक गतिविधिमा पुरुषको सहभागिता अझै उच्च रहेको देखाउँछ ।
जिल्ला आर्थिक गणना कार्यालयका अनुसार २०८२ चैत १ गते कार्यालय स्थापना गरी सुरु गरिएको अभियानअन्तर्गत २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा स्थलगत गणना सम्पन्न गरिएको थियो । कार्यालयले आर्थिक वर्ष २०८३/०८४ भित्र तथ्याङ्क प्रशोधन गरी अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । हाल सार्वजनिक गरिएको विवरण प्रारम्भिक भएकाले तथ्याङ्क प्रशोधनका क्रममा अन्तिम नतिजामा सामान्य हेरफेर हुन सक्ने कार्यालयको भनाइ छ ।

