राैतहटकाे जयनगरमा रहस्यमय जनावरको आतंक, ६० भन्दा बढी बाख्रा मरेपछि किसान त्रसित

रौतहट, १६ असार
रौतहटको गरुडा नगरपालिका अन्तर्गत जयनगर गाउँमा अज्ञात जनावरको आक्रमणबाट बाख्रा मर्ने क्रम नरोकिएपछि स्थानीयवासी त्रसित बनेका छन्। करिब एक महिनादेखि दोहोरिँदै आएको घटनाले गाउँभर भयको वातावरण सिर्जना गरेको छ भने किसानहरू रातभर बाख्राको सुरक्षामा जाग्राम बस्न बाध्य भएका छन् ।
स्थानीयका अनुसार करिब एक महिना अघि भएको पहिलो घटनामा एक दर्जनभन्दा बढी बाख्रा मारिएका थिए । पछिल्ला दिनहरूमा फेरि उस्तै प्रकृतिका घटना दोहोरिँदा हालसम्म ६० भन्दा बढी बाख्रा मरेको स्थानीयको दाबी छ । आक्रमणको शैली असामान्य रहेको स्थानीय बताउँछन्। अधिकांश बाख्रा पेटमा गहिरो चोट लागेको, आन्द्रा–भुँडी बाहिर निस्किएको अवस्थामा मृत फेला परेका छन्। तर मासु भने खासै नखाएको देखिएकाले आक्रमण कुन जनावरले गरिरहेको हो भन्ने अझै रहस्यमै रहेको छ । लगातारको घटनाले पशुपालन व्यवसायमा निर्भर किसानहरू ठूलो आर्थिक मारमा परेका छन् । बाख्रा पाल्नसमेत डर लाग्ने अवस्था सिर्जना भएको भन्दै उनीहरूले तत्काल सम्बन्धित निकायले घटनाको अनुसन्धान गरी वास्तविक कारण पत्ता लगाउन, आक्रमणकारी जनावरको पहिचान गर्न तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन् ।
स्थानीयवासीका अनुसार यसबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि हालसम्म प्रभावकारी अनुसन्धान वा नियन्त्रणका लागि ठोस पहल हुन सकेको छैन । घटनाको वास्तविकता सार्वजनिक नभएसम्म स्थानीयमा त्रास अझ बढ्ने देखिएको छ ।

ताजा समाचार

Related Articles