रौतहट २८ माघ
आज बिहान जंगली हात्तीको आक्रमणबाट रौतहटको चन्द्रपुर नगरपालिका–६ का दुई किसानको बारीमा ठूलो क्षति पुगेको छ। स्थानीय किसान रमेश हुमागाईं र कृष्ण तिमिल्सिनाले लगाएको करिब २५० भन्दा बढी केराका बोट हात्तीले नष्ट पारिदिएको हो । स्थानीयका अनुसार बिहान सबेरै जंगलतर्फबाट आएको हात्ती बारीमा पसेर केराका बोट उखेलेर तथा कुल्चिएर नष्ट गरेको थियो । हात्ती प्रवेश गरेपछि आसपासका बासिन्दा त्रसित बनेका थिए । पीडित किसानहरूले यस घटनाबाट आफूहरूलाई ठूलो आर्थिक क्षति पुगेको बताएका छन् । मेहनत गरेर लगाइएको बाली एकैछिनमा सखाप भएपछि उनीहरू चिन्तित बनेका छन् । स्थानीयवासीले जंगली जनावरको बढ्दो जोखिमलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग प्रभावकारी कदम चाल्न माग गरेका छन् । वन क्षेत्र नजिकका बस्तीहरूमा यसअघि पनि जंगली जनावरको आवतजावत हुने गरेको बताइएको छ ।

