रौतहटमा खेतको घाँस काट्ने विषयमा झडप, तीन महिला गम्भीर घाइते

रौतहट २७ माघ
देवाही गोनाही नगरपालिका–५, टीकुलिया गाउँमा खेतमा घाँस काट्ने विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिँदा तीन महिला गम्भीर घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राति भएको झडपमा स्थानीय महेश तिवारीकी २५ वर्षीया छोरी अस्मिता तिवारी, १५ वर्षीया सुस्मिता तिवारी र छिमेकी बचेलाल मुखिया बिनकी ४० वर्षीया श्रीमती अनतिया बिन गम्भीर घाइते भएका हुन् । अनतिया बिनको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य दुईको शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको कलैयास्थित ए–प्लस अस्पतालको आईसीयूमा उपचार भइरहेको र हाल उनीहरूको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको अस्पताल स्रोतले जानकारी दिएको छ । घटनासँग सम्बन्धित आरोपमा ४० वर्षीय शम्भु राय यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले बताउनु भयाे । प्रहरीका अनुसार विवादको सुरुआत आइतबार महेश तिवारीको तोरीबारीमा छिमेकी पक्षका महिलाले घाँस काटेको विषयबाट भएको थियो। यस विषयमा असन्तुष्टि जनाउँदै सोमबार साँझ गुनासो गरिएपछि दुवै पक्षबीच भनाभन भएको र सोही क्रममा झडपमा परिणत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको भनाइ अनुसार विवादपछि शंकर राय यादव, उनका छोरा शम्भु यादव तथा अन्य परिवारका सदस्यहरू तिवारीको घरमा प्रवेश गरी कुटपिटमा संलग्न भएका थिए। झगडा रोक्न गएकी छिमेकी अनतिया बिनसमेत आक्रमणको शिकार बनेकी थिइन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles