रौतहट २७ माघ
विश्व शान्ति, अहिंसा र मानव एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित थाइल्याण्डका भिक्षुहरूको नेतृत्वमा २८ सदस्यीय अन्तर्राष्ट्रिय टोलीले रौतहटको चन्द्रपुरबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनीतर्फ पैदल यात्रा सुरु गरेको छ । मंगलबार चन्द्रपुर नगरपालिका–१ स्थित गोल्माराजा बुद्ध बिहारबाट औपचारिक रूपमा सुरु भएको यस महान् धम्म यात्रामा थाइल्याण्डका २२ जना भिक्षुहरूका साथै लाओस, भारत र नेपालका प्रतिनिधिहरू सहभागी छन्। टोली भारतको आसाम र त्रिपुरा हुँदै नेपाल प्रवेश गरी चन्द्रपुर पुगेको थियो।
‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्ध जन्मस्थल लुम्बिनीसम्म’ नाम दिइएको उक्त पदयात्राको नेतृत्व थाइल्याण्डको वाट थम्पायल बिहारका प्रमुख भिक्षु आचार्य सुफित भन्तेले गरिरहेका छन्। भिक्षुहरू हजारौँ माइलको पैदल यात्रा गर्दै फाल्गुण १० गते लुम्बिनी पुग्ने र त्यहाँ विशेष पूजापाठ सम्पन्न गरी आ–आफ्नो देश फर्कने कार्यक्रम रहेको छ । गोल्माराजा बुद्ध बिहार, चन्द्रपुर–१ का भन्ते मेधकर स्थविरका अनुसार करुणा, सहअस्तित्व र विश्व शान्तिको सन्देश फैलाउने लक्ष्यसहित यो यात्रा करिब १५ दिनसम्म सञ्चालन हुनेछ । यस पदयात्राले बुद्धका उपदेशलाई व्यवहारमा उतार्दै विश्व समुदायमा शान्तिको भावना विस्तार गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

