रौतहट २६ माघ
रौतहटको गरुडा नगरपालिकामा पेट्रोल पम्पमा भएको कुटपिट तथा लुटपाटको घटनालाई लिएर इलाका प्रहरी कार्यालय गरुडाको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ । पीडित पक्षले प्रहरी प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले मुद्दा दर्ता गर्न अस्वीकार गरेको आरोप लगाउँदै आइतबार पत्रकार सम्मेलन आयोजना गरेका हुन् । गत माघ १५ गते राति गरुडा–६ शिवनगरस्थित आदर्श आयल स्टोरमा पेट्रोलको भुक्तानी विवाद चर्किएपछि एक समूहले पम्पमा आक्रमण गरेको पम्प सञ्चालक राकेश चौधरीले बताएका छन् । घटनामा गरुडा–६ का वडा अध्यक्ष रामबाबु चौधरीका छोरा रञ्जित र रोहित चौधरी घाइते भएका थिए । परिवारका अनुसार रञ्जित चौधरीको नाकमा गम्भीर चोट लागेकाले काठमाडौंमा शल्यक्रियाको तयारी भइरहेको छ । साथै, घटनाका क्रममा पम्पबाट करिब ६५ हजार रुपैयाँ लुटिएको दाबी गरिएको छ ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष चौधरीले डाँका र ज्यान मार्ने उद्योगजस्ता गम्भीर अभियोगमा जाहेरी दिन खोज्दा डीएसपी आचार्यले ‘अभद्र व्यवहार’ को जाहेरी मात्र दिन सुझाएर फर्काएको आरोप लगाउनु भयो । प्रहरी चौकीबाट करिब ३० मिटरको दूरीमै घटना हुँदा पनि सुरक्षाकर्मी निष्क्रिय रहेको र अहिले दोषीलाई जोगाउन खोजिएको उहाको दाबी गर्नु भयो । तर डीएसपी आचार्यले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् । उहाले घटनासम्बन्धी सीसीटीभी फुटेजको अध्ययन भइरहेको जानकारी दिँदै हालसम्म लुटपाट वा ज्यान मार्ने स्पष्ट उद्देश्य नदेखिएको बताउनु भयो । साथै, औपचारिक जाहेरी नै नआएकाले मुद्दा दर्ता हुन नसकेको दाबी गर्दै उहाले आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । घटनालाई लिएर स्थानीयस्तरमा प्रहरीको निष्पक्षता र पीडितको न्याय पहुँचबारे बहस चर्किँदै गएको छ ।

