वीरगन्जमा अवैध कपडा गोदाममाथि छापा, तस्करको आक्रमणबाट सशस्त्र प्रहरी घाइते

पर्सा २६ माघ
पर्साको वीरगन्जमा अवैध रूपमा सञ्चालन गरिएको कपडा गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा स्थिति तनावग्रस्त बनेको छ । छापाका क्रममा तस्कर समूहले आक्रमण गरेपछि तीन जना सशस्त्र प्रहरी घाइते भएका छन । सोमबार बिहान वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध गोदाम रहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले कारबाही अघि बढाएको थियो । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साअन्तर्गत सीमा सुरक्षा गुल्मको नेतृत्वमा गरिएको छापामा करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा बरामद गरिएको छ । बरामद कार्य सम्पन्न भइसकेपछि तस्कर समूह एकाएक आक्रामक बनेर सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहारमा उत्रिएको सशस्त्र प्रहरीले जनाएको छ । आक्रमणका क्रममा सशस्त्र प्रहरीका एक वानटन र एक स्कार्पियो गाडीमा क्षति पुगेको छ भने तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइते प्रहरीको अवस्था सामान्य रहेको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइएको र अवैध सामानसहित थप अनुसन्धान भइरहेको उहाले बताउनु भयो । घटनापछि उक्त क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएपनि अवस्था नियन्त्रणमा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles