रौतहट, माघ २५
केन्द्रीय अनुसन्धान ब्युरो (CIB) की असई भएको झुटो परिचय दिँदै सर्वसाधारणलाई ठगी गर्दै आएकी एक महिलालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने महिला सर्लाही जिल्लाको कबिलासी नगरपालिका–१०, सलेमपुर टोल निवासी निर्मला महतो रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। प्रहरीका अनुसार ती महिलाले कहिले नेहा, कहिले निशा त कहिले पूनम कुमारी नाम प्रयोग गरी आफू CIB की असई भएको भन्दै विभिन्न व्यक्तिहरूलाई डर देखाउने, पहुँच देखाउने तथा काम मिलाइदिने बहानामा आर्थिक लाभ लिँदै ठगी गर्दै आएकी थिइन्। चन्द्रपुर नगरपालिका–६ बाट नियन्त्रणमा लिइएकी महतोले सरकारी निकायको नाम र प्रभाव दुरुपयोग गरी सर्वसाधारणलाई भ्रममा पारी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई ठगी, आपराधिक विश्वासघात तथा गैरकानुनी लाभसम्बन्धी कसुर अन्तर्गत पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङ ले नक्कली प्रहरी वा सरकारी कर्मचारी बनेर ठगी गर्ने प्रवृत्ति गम्भीर अपराध भएको बताउँदै यस्ता व्यक्तिप्रति उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। उहाँले कसैले आफूलाई प्रहरी, CIB वा अन्य सरकारी निकायको कर्मचारी बताई डर देखाउने, फसाउने वा पैसा माग्ने गरेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्नुभएको छ।

