रौतहट २४ माघ
रौतहटको मंगलपुरमा २ दिने पुजापाठ कार्यक्रम हुने भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ अन्तर्गत बागमती, मंगलपुरस्थित टासी लिङ गुम्बामा माघ २५ र २६ गते दुई दिने धार्मिक कार्यक्रम आयोजना हुने भएको छ । गुम्बाको आयोजनामा हुने उक्त कार्यक्रममा श्रद्धेय धर्मगुरु लामा सोनाम टासी रिम्पोछे ज्यूद्वारा क्रोधिकाली तथा विश्व शान्ति पूजा सम्पन्न गरिने गुम्बाका अध्यक्ष यमलाल गोलेले बताउनु भयो । साथै कार्यक्रममा वाङ (अभिषेक) प्रदान गर्नुका साथै धर्म सम्बन्धी प्रवचन समेत गरिने आयोजकले तराई पोष्टलाई जानकारी दिनु भयो । धार्मिक आस्था र विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको यस कार्यक्रमले क्षेत्रका श्रद्धालु भक्तजनहरूलाई आध्यात्मिक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन तथा महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन आग्रह गरेका छन् ।

