पर्सा २२ माघ
पर्सा प्रहरीले सामाजिक सञ्जालमार्फत राजनीतिक दलको प्रचार–प्रसार गरेको आरोपमा एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिई आन्तरिक अनुसन्धान थालेको छ । नियन्त्रणमा लिइने व्यक्ति पर्सा जिल्ला प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेल हुन् । पर्सा प्रहरीका अनुसार हवल्दार पटेलले पछिल्ला दिनहरूमा आफ्ना व्यक्तिगत सामाजिक सञ्जाल खाताबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियान, गतिविधि तथा घोषणापत्रसम्बन्धी सामग्रीहरू सार्वजनिक गर्दै आएका थिए। यसरी राजनीतिक दलप्रति समर्थनजन्य अभिव्यक्ति र टिप्पणी गरेको पाइएपछि प्रहरी संगठनको आचरण र तटस्थतामाथि प्रश्न उठेको जनाइएको छ । पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार प्रहरी संगठनभित्र कार्यरत कर्मचारीले कुनै पनि राजनीतिक दलको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रचार गर्न नपाउने व्यवस्था प्रहरी ऐन तथा नियमावलीमा स्पष्ट रूपमा उल्लेख छ। “प्रहरी सेवामा राजनीतिक तटस्थता अनिवार्य शर्त हो,” डीएसपी बस्नेतले भने, “उक्त मापदण्ड उल्लङ्घन भएको आशंकामा हवल्दारलाई नियन्त्रणमा लिई बयान लिने र तथ्य सङ्कलन गर्ने काम अघि बढाइएको छ ।”
हवल्दार पटेललाई केही घण्टा अघि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज परिसरबाट नियन्त्रणमा लिइएको बताइएको छ। उनी पर्सा जिल्ला प्रहरी कार्यालयमै कार्यरत रहेकाले घटनालाई संवेदनशील रूपमा हेरिएको प्रहरी स्रोतको भनाइ छ । आन्तरिक छानबिनका क्रममा उनका सामाजिक सञ्जाल पोस्ट, टिप्पणी, प्रतिक्रियाहरू तथा सम्भावित बाह्य सम्पर्कहरूमाथि समेत अनुसन्धान भइरहेको जनाइएको छ। छानबिनको निष्कर्षका आधारमा विभागीय कारबाही तय गरिने प्रहरीको भनाइ छ। प्रहरी ऐन तथा नियमावलीअनुसार प्रहरी कर्मचारीले राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने, सार्वजनिक अभिव्यक्तिमा पूर्ण तटस्थता कायम गर्नुपर्ने र उल्लङ्घनको अवस्थामा कडा कारबाही हुनसक्ने व्यवस्था रहेको छ।
यस घटनाले प्रहरी संगठनभित्र सामाजिक सञ्जाल प्रयोगको मर्यादा, जिम्मेवारी र राजनीतिक तटस्थताको विषयमा पुनः गम्भीर बहस सुरु गराएको छ ।

