चन्द्रपुर–३ गैडाटारमा मतदाता भेटघाटका क्रममा स्वर्गीय कर्मध्वज थिङको स्मृतिमा श्रद्धाञ्जली

राैतहट २३ माघ
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–३ गैडाटारमा शुक्रबार मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा नेकपा एमाले रौतहटका उम्मेदवार रामजी साहले स्वर्गीय पूर्व वडा अध्यक्ष कर्मध्वज थिङप्रति माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। स्थानीय मतदाताहरूसँगको भेटघाटकै क्रममा उम्मेदवार साहले स्व. थिङले पार्टी र स्थानीय राजनीतिक आन्दोलनमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो। उहाँले स्व. थिङको सालिकमा माल्यार्पण गर्दै उहाँप्रति सम्मान प्रकट गर्नुभएको हो ।
स्वर्गीय कर्मध्वज थिङ चन्द्रपुर नगरपालिका–३ गैडाटारबाट नेकपा एमालेको तर्फबाट २०४९ सालदेखि २०५९ सालसम्म वडा अध्यक्षको रूपमा निर्वाचित हुनु भएको थियो। उहाँको जन्म २००१ साल चैत्र ४ गते भएको थियो भने २०७३ साल चैत्र २८ गते उहाँको निधन भएको हो ।
थिङ रौतहट जिल्लामा एमालेको राजनीतिक विरासतलाई जीवित राख्ने विशिष्ट नेताको रूपमा चिनिनु हुन्छ। २०४९ सालको स्थानीय तह निर्वाचनमा उहाँ रौतहट जिल्लामै नेकपा एमालेबाट निर्वाचित एकमात्र वडा अध्यक्ष हुनु भएको इतिहास समेत छ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले स्व. थिङको सरलता, इमान्दार नेतृत्व र पार्टीप्रतिको निष्ठालाई स्मरण गर्दै उहाँको योगदानलाई उदाहरणीय बताएका थिए ।

ताजा समाचार

Related Articles