रौतहट, १९ माघ । रौतहटको चन्द्रपुर नगरपालिका–४ र ६ मा अवस्थित शान्तिनगरस्थित श्रीरामजानकी मन्दिरको प्रांगणमा श्रीमद्वाल्मीकीय रामायण धान्याञ्चल महायज्ञ–२०८२ आयोजना हुने भएको छ। उक्त महायज्ञको तयारी तथा उद्देश्यबारे जानकारी दिन मन्दिर परिसरमै पत्रकार सम्मेलन सम्पन्न भएको छ।
पत्रकार सम्मेलनमा जानकारी दिँदै आयोजक समितिका अध्यक्ष शिव कोइरालाले माघ २१ गतेदेखि ९ दिनसम्म महायज्ञ सञ्चालन हुने बताउनुभयो। उहाँका अनुसार महायज्ञ धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको अभियानका रूपमा आयोजना गरिनेछ।
महायज्ञ आयोजना गर्नुको उद्देश्य श्रीरामजानकी मन्दिरको पूर्वाधार विकास, अक्षयकोष स्थापना, पूजारी व्यवस्थापन तथा भविष्यमा गुरुकुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण रहेको आयोजक समितिले जनाएको छ।
महायज्ञ अवधिभर श्रीमद्वाल्मीकीय रामायणको सामूहिक वाचन, धार्मिक प्रवचन, भजन–कीर्तन तथा विभिन्न आध्यात्मिक कार्यक्रमहरू सञ्चालन हुने जानकारी अध्यक्ष कोइरालाले दिनुभयो।
यसैगरी, श्रीरामजानकी मन्दिर क्षेत्र विकास समिति तथा श्रीवैष्णव परिषद् रौतहट, चन्द्रनिगाहपुरले स्थानीयवासी, भक्तजन, समाजसेवी तथा सरोकारवालाहरूलाई महायज्ञ सफल बनाउन सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।
महायज्ञ व्यवस्थापन समितिका सचिव श्यामहरी चौलागाईंका अनुसार महायज्ञको शुभारम्भ माघ २१ गते बिहान ८ बजे कलशयात्राबाट हुनेछ।

