रौतहट–३ मा नेकपाकी उमेदवार पुनम यादवको घरदैलो तीव्र, चुनावी माहोल तातिँदै

रौतहट, १८ माघ  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी चहलपहल बढ्दो छ। यसैक्रममा नेकपाकी उम्मेदवार पुनम यादव यतिबेला तीव्र घरदैलो अभियानमा व्यस्त देखिएकी छन्।
गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेकी यादवले आफ्ना योजना र प्राथमिकताबारे खुला संवाद गरिरहेकी छन्। स्थानीय समस्यालाई नजिकबाट बुझ्दै उनले कृषि र पर्यटन क्षेत्रको विकासलाई मुख्य आधार बनाएर समृद्धिको बाटो खोल्ने प्रतिबद्धता जनाएकी छन्। उनका अनुसार शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर क्षेत्रको समग्र विकास सम्भव छ।
यादवले आफू निर्वाचित भएमा सुविधासम्पन्न विद्यालय र अस्पताल स्थापना, साथै वैदेशिक लगानीमार्फत ठूला उद्योग सञ्चालन गरी करिब १५ हजार युवालाई रोजगारी दिने योजना अघि सारेकी छन्। “रौतहट–३ लाई अवसरको केन्द्र बनाउने लक्ष्यका साथ म मैदानमा उत्रिएकी हुँ,” उनले विभिन्न कार्यक्रममा दोहोर्‍याउँदै आएकी छन्।
चुनावी सभाहरूमा उनले मतदातालाई सूर्य चिन्हमा मतदान गरी विजय गराउन आग्रह गरिरहेकी छन्। पार्टीका अन्य नेताहरू पनि क्षेत्रमा सक्रिय देखिएका छन्। नेकपा युवानेता तथा मेयर प्रत्याशी अजय तिमलसिना ले पुनम यादवप्रति जनसमर्थन उत्साहजनक रूपमा बढिरहेको दाबी गर्दै विकास र समृद्धिको एजेण्डा नै आफ्नो अभियानको मुख्य आधार भएको बताएका छन्।
रौतहट–३ मा अन्य दलका उम्मेदवारहरू पनि उत्तिकै सक्रिय छन्। निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी कार्यक्रम, भेटघाट र एजेण्डा सार्वजनिक गर्ने क्रम अझै तीव्र हुने देखिन्छ। क्षेत्रको राजनीतिक माहोल दिनप्रतिदिन थप गतिशील बन्दै गएको छ।

ताजा समाचार

Related Articles