उज्यालो नेपाल पार्टीबाट रौतहट–४ मा तुलसीराज गिरी उम्मेदवार बन्दै

रौतहट, ५ माघ । प्रगतिशील समाजवादी पार्टी र नेकपा एमालेबीच भएको राजनीतिक समझदारी भङ्ग भएको छ । नेकपा एमालेले भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै प्रगतिशील समाजवादी पार्टीका अध्यक्ष तुलसीराज गिरीले एमालेसँगको सहकार्य अन्त्य भएको जानकारी दिनुभएको हो ।
समझदारी भङ्ग भएसँगै प्रगतिशील समाजवादी पार्टी उज्यालो नेपाल पार्टीसँग एकतामा गएको छ । एकतापछि अध्यक्ष गिरी उज्यालो नेपाल पार्टीको चुनाव चिन्हबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्ने निश्चित भएको छ ।
अध्यक्ष गिरीले उज्यालो नेपाल पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिने निर्णय औपचारिक रूपमा टुंगिएको बताइएको छ । लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहँदै आउनुभएका गिरीको उम्मेदवारीले रौतहट–४ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।
राजनीतिक अनुभव, संगठन क्षमता र क्षेत्रमै लामो समयको प्रभावका कारण गिरी अन्य उम्मेदवारको तुलनामा बलियो प्रतिस्पर्धीका रूपमा देखिन थालेका छन् । समझदारी भङ्ग र नयाँ पार्टीसँगको एकताले रौतहटको राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
आगामी निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ४ मा दलहरूबीचको प्रतिस्पर्धा थप तीव्र हुने संकेत देखिएको छ ।

ताजा समाचार

Related Articles