रौतहट ८ माघ
सशस्त्र प्रहरी बल, नेपालको स्थापना भएको २५औँ वर्ष (रजत महोत्सव) तथा सशस्त्र प्रहरी दिवस–२०८२ को सुखद अवसरमा सशस्त्र प्रहरी बल, नेपालले देशभर विविध सामाजिक तथा जनसेवामूलक कार्यक्रम आयोजना गरी स्थापना दिवस भव्य रूपमा मनाएको छ । सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटको आयोजनामा गणको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। प्रादेशिक अस्पताल गौरसँगको समन्वयमा आयोजित उक्त कार्यक्रममा गणपति तथा एसपी रामहरि अधिकारीसहित १४ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरेका थिए । रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न कार्यालयहरूले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम, अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण, स्वास्थ्य शिविर सञ्चालन, अशक्त, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा र खाद्यान्न वितरण, मठमन्दिर सरसफाइ, स्थानीय समुदायमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । त्यसैगरी विद्यालयस्तरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता, समकक्षी निकायसँग मैत्रीपूर्ण खेलकुद प्रतियोगिताजस्ता कार्यक्रमहरू समेत आयोजना गरी स्थापना दिवस भव्य रूपमा मनाइएको छ । सामाजिक उत्तरदायित्व र मानवतामूलक सेवामा प्रतिबद्ध सशस्त्र प्रहरी बल, नेपालले स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी जनसेवा र समुदायसँगको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा मनाउँदै आएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ ।

