राैतहट, १७ असार
चन्द्रपुर नगरपालिका–३ गैडाटारस्थित गैडाटार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ले स्थापना भएको करिब १२ वर्षपछि पहिलोपटक साधारण सभा सम्पन्न गरेको छ।
बुधबार समितिको कार्यालयमा आयोजित साधारण सभाले आर्थिक वर्ष २०७०/७१ देखि २०८१/८२ सम्मको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो । २०७० सालमा गठन भएको पानी ट्याङ्की निर्माण समितिले नै हालसम्म समितिको जिम्मेवारी सम्हाल्दै आएको थियो । लामो समयसम्म साधारण सभा आयोजना नगरिएको भन्दै उपभोक्ताहरूले निरन्तर प्रश्न उठाउँदै आएका थिए। यसपटक पनि अधिकांश उपभोक्ताले प्रत्यक्ष रूपमा निर्वाचनसहितको साधारण सभा हुनुपर्ने माग गरेका थिए। तर आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन अझै तयार नभएकाले उक्त प्रतिवेदन २०८३ भदौ मसान्तभित्र तयार गरी निर्वाचनसहितको साधारण सभा गर्ने प्रतिबद्धतासहित हालको साधारण सभा सम्पन्न गरिएको समितिले जनाएको छ ।

साधारण सभाले विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानी वितरण प्रभावित हुने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न तत्काल जेनेरेटर खरिद गर्ने निर्णय गरेको छ । साथै समितिका दिवंगत सदस्यहरू सोमारानी थिङ, राजकुमार राई र हिरालाल गुराेको योगदानको उच्च सम्मान गर्दै रिक्त पदमा नयाँ सदस्य चयन गरी समितिलाई पूर्णता दिने निर्णय पनि गरिएको अध्यक्ष हरिप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रम चन्द्रपुर नगरपालिका–३ का वडा अध्यक्ष बोधनाथ देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की विशिष्ट अतिथि रहेका थिए भने राजु धामी, संगीता पहाडी, भुनेश्वर गुरौ, कृष्णकुमार, नवीन दोङ, उत्तरबहादुर थापा, गोपाल फुयाल, गोविन्द तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।

समितिका सचिव जितेन्द्र धामीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपभोक्ताहरूले उठाएका जिज्ञासा र गुनासाहरूको जवाफ अध्यक्ष हरिप्रसाद आचार्यले दिएका थिए । कार्यक्रमको सञ्चालन स्थानीय सञ्चारकर्मी तथा समाजसेवी उपेन्द्र गोले तामाङले गरेका थिए । लामो समयपछि सम्पन्न भएको साधारण सभाले समितिको आर्थिक पारदर्शिता, संस्थागत उत्तरदायित्व तथा आगामी निर्वाचनको तयारीलाई नयाँ दिशा दिएको सहभागीहरूले बताएका छन् ।

