रुपेन्द्र पटेल
रौतहट, १ माघ । रौतहटको वृन्दावन नगरपालिका–८ अन्तर्गत आकडपाथड क्षेत्रमा निर्माणाधीन शुद्ध खानेपानी ओभरहेड ट्यांकी परियोजनाका लागि आवश्यक डिप बोरिङ्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले जनाएको छ ।
परियोजनाको स्थलगत अनुगमनका क्रममा नगर प्रमुख विनोद प्रसाद कुर्मीले डिप बोरिङ्ग कार्य उल्लेखनीय प्रगतिसहित अघि बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल डिप बोरिङ्गमा आवश्यक पाइप जडानको काम भइरहेको छ, जुन छिट्टै सम्पन्न गरिनेछ ।
अनुगमनकै क्रममा नगर प्रमुख कुर्मीले विकास निर्माणका सवालमा कुनै पनि प्रकारको दबाब, सम्झौता वा व्यक्तिगत स्वार्थलाई स्थान नदिइने स्पष्ट पार्नुभयो । “हामी विकासको मार्गमा दृढताका साथ अघि बढिसकेका छौँ । नगरवासीलाई आधारभूत सेवा, विशेषगरी स्वच्छ खानेपानी उपलब्ध गराउने विषयमा कुनै सम्झौता हुँदैन,” उहाँले भन्नुभयो ।
डिप बोरिङ्गको सम्पूर्ण काम सम्पन्न भएपछि शुद्ध खानेपानी ओभरहेड ट्यांकीसँग पाइप जडान गरी नियमित रूपमा स्वच्छ खानेपानी वितरण गरिने नगरपालिकाले जनाएको छ । यस आयोजनाको सफल कार्यान्वयनपछि वडा नम्बर ८ सहित आसपासका बासिन्दाले लामो समयदेखि भोग्दै आएको खानेपानी अभावको समस्या समाधान हुने विश्वास गरिएको छ ।
स्थानीयवासीहरूले प्राथमिकताका साथ अघि बढाइएको यस खानेपानी परियोजनाले दैनिक जीवन सहज बनाउने अपेक्षा व्यक्त गरेका छन् । नियमित र स्वच्छ खानेपानी उपलब्ध भएपछि स्वास्थ्यमा सुधार, समयको बचत तथा जीवनस्तर उकासिने उनीहरूको भनाइ छ ।
बृन्दावन नगरपालिकाले आगामी दिनहरूमा पनि जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विकासमुखी योजनाहरूलाई निरन्तरता दिने जनाएको छ । नगरपालिकाको सक्रियता र योजनाबद्ध कार्यान्वयनले बृन्दावनलाई क्रमशः समृद्ध र सुविधासम्पन्न नगरतर्फ अघि बढाइरहेको स्थानीयवासीहरूले बताएका छन् ।

