रौतहटमा नक्कली ट्राफिक जरिवाना रसिद प्रयोगको खुलासा, दुई चालक नियन्त्रणमा

राैतहट २७ पुस
रौतहट जिल्लामा ट्राफिक नियम उल्लङ्घनपछि कारबाहीबाट जोगिन नक्कली जरिवाना रसिद प्रयोग गरिएको घटना सार्वजनिक भएको छ । प्रहरीले यसलाई राजमार्ग क्षेत्रमा देखिएको सम्भवतः पहिलो घटना भएको जनाएको छ ।
गत पुस २६ गते साँझ करिब ७:३० बजे अस्थायी ट्राफिक प्रहरी पोस्ट बागमतीमा गरिएको संयुक्त सवारी चेकजाँचका क्रममा बा.प्र.०१–०२६ च ४८१७ नम्बरको बोलेरो गाडी शंकास्पद देखिएपछि रोकिएको थियो। चेकजाँचका बेला चालकले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट जारी गरिएको भन्दै २४ घण्टे जरिवाना रसिद प्रस्तुत गरेका थिए ।
तर प्रारम्भिक अनुसन्धानमै उक्त रसिद फोटोसप प्रयोग गरी बनाइएको नक्कली भएको पुष्टि भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले बोलेरोका दुई चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–४ निवासी २७ वर्षीय दिलीप महतो र बरहथवा नगरपालिका–१० निवासी ३२ वर्षीय ओमप्रकाश साह रहेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङका अनुसार सार्वजनिक बिदा परेकाले उनीहरूको म्याद थप प्रक्रिया हुन सकेको छैन। प्रारम्भिक बयानमा उनीहरूले ओभरलोडका कारण जरिवाना तिरेको भन्दै नक्कली रसिद देखाएको खुलेको छ । यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले नक्कली रसिदमा उल्लेख गरिएको ट्राफिक प्रहरी तीन महिनाअगाडि नै सरुवा भइसकेको जानकारी दिए । घटनालाई गम्भीर प्रकृतिको अपराध मान्दै प्रहरीले सरकारी कागजात किर्ते सम्बन्धी मुद्दा दायर गर्ने तयारी गरिरहेको जनाएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

ताजा समाचार

Related Articles