रौतहटमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना खुल्दा उत्साहजनक सहभागिता

राैतहट २८ पुस
रौतहट जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्ना खुल्नेबित्तिकै युवाहरूको उल्लेखनीय भीड देखिएको छ। निर्वाचन सुरक्षामा सहभागी हुने चाहनाले बिहानैदेखि आवेदन फारम बुझाउनेहरूको चहलपहल बढेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यसपटक कुल ३ हजार ९५१ जना म्यादी प्रहरी भर्ना गरिनेछ। जसअनुसार नेपाल प्रहरीतर्फ ३ हजार ४६६ जना र सशस्त्र प्रहरी बल, नेपालतर्फ ३ सय ८५ जना आवश्यक पर्ने जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डीएसपी विष्णु प्रदीप बस्यालले दिनुभयो । आवेदन प्रक्रियालाई सहज बनाउन गौरस्थित जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय गरुडा, चन्द्रनिगाहपुर र लक्ष्मीनिया विजयपुरबाट फारम बुझाउने व्यवस्था गरिएको छ। इच्छुक उम्मेदवारले माघ १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म तोकिएका कार्यालयमा आवेदन दिन सक्नेछन् । उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै नेपाली नागरिकता भएको, सामान्य लेखपढ गर्न सक्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक–मानसिक रूपमा स्वस्थ हुनु अनिवार्य शर्त राखिएको छ। पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी तोकिएको छपूर्व सुरक्षा कर्मी, पूर्व वनरक्षक तथा विगतका निर्वाचनमा म्यादी प्रहरीको अनुभव भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने जनाइएको छ। आवेदन दिने उम्मेदवारको सम्पर्क माघ ४ गते हुने छ भने छनोट प्रक्रिया माघ ५ देखि ९ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिने तयारी छ । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहनेछ। तलब नेपाल प्रहरी जवानको प्रारम्भिक स्केलअनुसार दिइनेछ भने खाना खर्च, तयारी खर्च र खाजा खर्चसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ। आवेदन खुल्नासाथ रौतहटमा निर्वाचन सुरक्षामा योगदान दिने चाहनाले युवाहरूको भीड दिनभरि देखिन थालेको छ ।

ताजा समाचार

Related Articles