चन्द्रपुरमा आदिवासी जनजाति सवालमा बृहत् छलफल राज्य नीतिबाट विभेद भएको निष्कर्ष

राैतहट २५ पुस

आदिवासी जनजाति महासंघ चन्द्रपुर नगर समितिको आयोजनामा चन्द्रपुर नगर क्षेत्र तथा रौतहट जिल्लामा रहेका आदिवासी जनजातिहरूका सवालबारे बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर अध्यक्ष राजु धामीको सभापतित्वमा सम्पन्न छलफल कार्यक्रममा सहभागी वक्ताहरूले राज्यको नीति तथा संरचनाबाट आदिवासी जनजातिहरू निरन्तर विभेदमा परेको निष्कर्ष निकालेका छन्। छलफलले आदिवासी जनजातिहरूले आफ्ना हक, अधिकार र अस्तित्वका लागि सम्बन्धित निकायहरूलाई एकजुट भई दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएको छ।कार्यक्रममा वक्ताहरूले आदिवासी जनजातिहरूको मौलिक संस्कृति, रहनसहन, भाषा र धर्मले नेपाललाई विश्वभर चिनाएको भए पनि ती समुदायहरू नै राज्यबाट उपेक्षित र विभेदित हुनु दुखद भएको बताए। यस्तो अवस्थाको अन्त्यका लागि जनजातिहरू आफैं सचेत, संगठित र सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरिएको थियो । छलफलले आउँदो माघ १७ गते चादी शहिद स्मृति पार्कमा बृहत् भेटघाट तथा विमर्श कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ। साथै, आदिवासी जनजातिहरूको आवाज बुलन्द गर्न आफ्नै मिडिया स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । कार्यक्रममा नेपाल तामाङ घेदुङ रौतहटका अध्यक्ष विरध्वज वाइवा, नेपाल मगर संघका केन्द्रीय सदस्य डोलबहादुर ठाडा मगर, थारु कल्याणकारी संघका केन्द्रीय सदस्य अधिकलाल चौधरी, नेवा दवु नगर अध्यक्ष कृष्णबहादुर शाही, राई दनुवार सांस्कृतिक विकास केन्द्रका संरक्षक कुमार राई, आदिवासी जनजाति महासंघ रौतहटका अध्यक्ष नरेन्द्र राना, सचिव प्रमोद चौधरी, नगर सचिव रामबहादुर घलान, नेपाल तामाङ घेदुङ मधेश प्रदेश सचिव बालकुमार लामा लगायत विभिन्न आदिवासी जनजाति सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले आदिवासी जनजातिहरू आफ्नै अस्तित्व, पहिचान र अधिकारका लागि एकताबद्ध भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको छ।

ताजा समाचार

Related Articles