चन्द्रपुर नगरपालिकाको १६औँ हिउँदे नगरसभा सम्पन्न, समृद्ध र सुशासनमुखी नगर निर्माणमा जोड

राैतहट २५ पुस
रौतहटको चन्द्रपुर नगरपालिकाले १६औँ हिउँदे नगरसभा शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ। चन्द्रपुरस्थित गोल्डेन ब्यान्क्वेटमा आयोजित नगरसभाको उद्घाटन विघटित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नगरप्रमुख तथा सभाध्यक्ष सञ्जय काफ्ले र उपप्रमुख जयमाला चौधरीले संयुक्त रूपमा गर्नुभएको हो । उद्घाटन समारोहमा प्रमुख अतिथि देवप्रसाद तिमल्सिनाले स्थानीय तहले जनताको जीवनस्तर उकास्ने कार्यलाई केन्द्रमा राखेर परिणाममुखी र प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। विकास निर्माणसँगै सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढेमा मात्र दिगो र समृद्ध नगर निर्माण सम्भव हुने उहाँको भनाइ थियो । नगर प्रमुख सञ्जय काफ्लेले नगरसभाको उद्देश्य, कार्यसूची र प्रक्रियाबारे जानकारी गराउँदै नगरपालिकाले हालसम्म हासिल गरेका उपलब्धि प्रस्तुत गर्नुभयो। साथै उहाँले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा विकास योजनाहरूको खाका सार्वजनिक गर्दै नगरसभालाई व्यवस्थित, समुन्नत र समावेशी नगर निर्माणको महत्वपूर्ण आधारका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष संजय कार्की तथा महासङ्घका पूर्व केन्द्रीय सदस्य शिव पुरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। उहाँहरूले नगरसभाबाट पारित हुने नीति तथा कार्यक्रमहरू जनमुखी, व्यवहारिक र दीर्घकालीन हुनुपर्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा विपन्न वर्गको सशक्तीकरणलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । नगरपालिकाको आगामी नीति, कार्यक्रम तथा विकास योजनामाथि छलफल र निर्णय गर्ने उद्देश्यले आयोजना गरिएको यस अधिवेशनमा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरसभाले चन्द्रपुरको दिगो विकास र सुशासनलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूको निष्कर्ष रहेको छ।

ताजा समाचार

Related Articles