चन्द्रनिगाहपुरमा २८६२औँ ता–ल्हो सोनाम ल्होछारको भव्य सांस्कृतिक उत्सव हुने

राैतहट १९ पुस
रौतहटको चन्द्रनिगाहपुरमा तामाङ समुदायको महान पर्व २८६२औँ ता–ल्हो सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। परम्परा, पहिचान र सांस्कृतिक एकताको सन्देश बोकेको यस कार्यक्रमले चन्द्रनिगाहपुर क्षेत्रलाई उत्सवमय बनाउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूका साथै स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। मौलिक तामाङ संस्कृति झल्काउने नृत्य, गीत–संगीत र सांस्कृतिक झाँकीमार्फत दर्शकलाई मनोरञ्जनसँगै सांस्कृतिक चेतना प्रदान गरिनेछ । कार्यक्रम मिति २०८२ माघ ५ गते चन्द्रनिगाहपुरस्थित टेकान वन क्वाटरमा रहेको स्याडुप फेन्दे बौद्ध गुम्बा परिसरमा आयोजना हुनेछ । धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने उक्त स्थलमा हुने कार्यक्रमले समुदायबीच आपसी सद्भाव थप मजबुत बनाउने विश्वास लिइएको छ । शनिबार सम्पन्न नेपाल तामाङ घेदुङ रौतहट तथा घेदुङ चन्द्रपुर नगर कमिटीको संयुक्त बैठकले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको हो । मुल आयोजक समितिका संयोजक हर्क बहादुर तामाङ मोक्तानका अनुसार ल्होछारलाई केवल पर्वका रूपमा होइन, तामाङ समुदायको इतिहास, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको अवसरका रूपमा मनाइनेछ ।
आयोजक समितिले सम्पूर्ण समुदाय, सांस्कृतिक प्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई उत्सवलाई सफल बनाउन आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles