रौतहट १९ पुस
रौतहटको फतुवा विजयपुर नगरपालिकाले विद्युत् महसुलको बक्यौता पूर्ण रूपमा चुक्ता नभएसम्म नगरपालिकाबाट सञ्चालन हुने कुनै पनि विकास योजनाको सम्झौता नगर्न निर्देशन दिएको छ । नगर कार्यपालिकाको कार्यालय लक्ष्मीनिया (दो) बाट मिति २०८२ पुस १७ गते जारी गरिएको पत्रमार्फत प्रमुख प्रशासकीय अधिकृत मदन थापालाई यस्तो निर्देशन दिइएको हो । पत्रमा नगरपालिकाको विद्युत् महसुल लामो समयदेखि बक्यौता रहँदै आएको जनाउँदै हाललाई कुनै पनि योजनासम्बन्धी सम्झौता प्रक्रिया अघि नबढाउन भनिएको छ । कार्यवाहक नगर प्रमुख अमवेया खातुनको हस्ताक्षर रहेको पत्रमा नगरपालिकाको आर्थिक अनुशासन कायम राख्न तथा विद्युत् महसुलको बक्यौता व्यवस्थित रूपमा चुक्ता गराउन यो निर्णय गरिएको उल्लेख छ । नगरपालिकाको यस निर्णयका कारण चालु तथा प्रस्तावित केही योजनाका सम्झौताहरू अस्थायी रूपमा रोकिएका छन् । नगर स्रोतका अनुसार विद्युत् महसुलको बक्यौता भुक्तानी भइसकेपछि मात्रै योजना सम्झौता प्रक्रिया पुनः सुचारु गरिनेछ ।

