गौरमा करदाता सेवा कार्यालय हटाउने निर्णयको विरोध चर्कियो, उद्योगी–व्यवसायी आन्दोलित

राैतहट १३ पुस
रौतहट सदरमुकाम गौरस्थित करदाता सेवा कार्यालय हटाउने सरकारी निर्णयको विरुद्ध आजदेखि खुलेआम विरोध सुरु भएको छ। उक्त निर्णयले जिल्लाका उद्योगी, व्यापारी र सर्वसाधारण करदातालाई प्रत्यक्ष असर पर्ने भन्दै रौतहट उद्योग वाणिज्य संघले गौर करदाता सेवा कार्यालयको मुख्य प्रवेशद्वारमै धर्ना कार्यक्रम थालेको हो । संघका पदाधिकारीहरूका अनुसार करदाता सेवा कार्यालय हटाइएमा करसम्बन्धी सेवा लिन जिल्लाबाहिर जानुपर्ने अवस्था सिर्जना हुने, समय र खर्च दुवै बढ्ने तथा व्यवसायिक गतिविधि थप प्रभावित हुने चिन्ता रहेको छ। “सेवा केन्द्र हटाउनु भनेको रौतहटका करदातामाथि अनावश्यक बोझ थप्नु हो,” संघका एक प्रतिनिधिले बताए । धर्नामा सहभागी उद्योगी–व्यवसायीहरूले कार्यालय यथास्थानमै कायम गर्न माग गर्दै विभिन्न नारा तथा प्लेकार्ड प्रदर्शन गरेका छन्। उनीहरूले माग सुनुवाइ नभएसम्म चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन् । संघले सम्बन्धित निकायसँग तत्काल वार्ता गरी निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। स्थानीय तह, व्यवसायिक समुदाय र नागरिक समाजको साझा सरोकारको विषय भएकाले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनीहरूको जोड छ।

ताजा समाचार

Related Articles