राैतहट १३ पुस
प्रदेश–२ अन्तर्गत रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ९ चेतनगर बिर्ताका विभिन्न बस्तीमा कठ्याङ्ग्रिने चिसो र सितलहरका कारण प्रभावित भएका विपन्न समुदायलाई लक्षित गर्दै न्यानो सहयोग कार्यक्रम सम्पन्न भएको छ । वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला, असहाय तथा गरिब–दुखी परिवारहरू केन्द्रदेखि स्थानीय सरकारसम्म सहज पहुँच नपुगेका दुर्गम बस्तीमा बसोबास गर्दै आएका थिए । यिनै समुदायको पीडालाई मध्यनजर गर्दै गोविन्द प्रसाद चौलागाईको अगुवाइमा सहयोगी भावनाका अभियन्ताहरूको संयुक्त पहलमा ब्ल्याङ्केट वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत घरदैलोमै पुगेर न्यानो कपडा वितरण गरिँदा चिसोबाट राहत मात्र होइन, पीडित समुदायमा आशा, आत्मीयता र मानवताको सन्देश पनि प्रवाह भएको सहभागीहरूले बताएका छन् । स्थानीय बासिन्दाहरूले कठिन समयमा प्राप्त भएको यो सहयोगले आफूहरूलाई हौसला मिलेको प्रतिक्रिया दिएका छन् । सहयोगी टोलीले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक परेका समुदायसँग हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ ।

