रौतहट १० पुस
राैतहटकाे चन्द्रनिगाहपुरमा पछिल्ला दिनहरूमा अत्याधिक चिसो बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्न थालेको छ। विशेषगरी खुला स्थानमा बसोबास गर्ने, विपन्न तथा यात्रुहरू बढी प्रभावित हुन थालेपछि डिभिजन वन कार्यालय रौतहटले चन्द्रनिगाहपुर क्षेत्रमा राहतस्वरूप दाउरा वितरण सुरु गरेको छ।
डिभिजन वन कार्यालय राैतहटले चन्द्रनिगाहपुरका विभिन्न सार्वजनिक स्थल, बसपार्क, चौक–चौराहा, अस्पताल परिसर तथा भीडभाड हुने स्थानहरूमा आगो ताप्न मिल्ने गरी दाउरा उपलब्ध गराउँदै आएको छ। चिसोका कारण उत्पन्न हुने स्वास्थ्य जोखिम कम गर्न तथा नागरिकलाई राहत दिन यो कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। वन कार्यालयका अनुसार जाडो यामभर आवश्यकताका आधारमा दाउरा वितरणलाई निरन्तरता दिइनेछ। साथै, वितरण गरिएको दाउरा सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। स्थानीयवासीहरूले चिसोको कठ्यांग्रिने अवस्थामा राज्य पक्षबाट भएको यो पहल समयसापेक्ष र मानवीय भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले विशेषगरी गरिब, मजदुर र वृद्धवृद्धालाई ठूलो राहत पुगेको छ।

