गैंडाटारको जनशक्ति मावि अन्डर–१४ फुटबलमा प्रथम, प्रदेशस्तरका लागि छनोट

रौतहट १० पुस
श्री जनशक्ति माध्यमिक विद्यालय, गैंडाटारले अन्डर–१४ छात्र फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै प्रदेशस्तरको प्रतियोगिताका लागि छनोट हुन सफल भएको छ। यस ऐतिहासिक सफलतासँगै विद्यालय परिवारमा खुशी र गौरवको माहोल छाएको छ। प्रतियोगितामा विद्यालयको टिमलाई सफल बनाउने क्रममा टिम म्यानेजर गजेन्द्र चौधरी, खेल प्रशिक्षक अभिषेक गुप्ता तथा दिपेश गुरोको महत्वपूर्ण भूमिका रहेको विद्यालयले जनाएको छ। प्रशिक्षकहरूको कुशल मार्गदर्शन, खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट टिमवर्कका कारण यो सफलता हासिल भएको बताइएको छ।
विद्यालयकी प्रधानाध्यापक रेणुका कुमारी जि.सी.ले जारी गरेको शुभकामना सन्देशमा खेलाडीहरू, प्रशिक्षक टोली र व्यवस्थापन पक्षलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेकी छन्। साथै उनले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षसहित सम्पूर्ण सहयोगी र सरोकारवालाप्रति कृतज्ञता प्रकट गरेकी छन्।

उनका अनुसार यस उपलब्धिले खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव छ भन्ने सन्देश दिएको छ। प्रदेशस्तरको प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उजागर गर्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण टिमलाई सफल यात्राको शुभकामना दिएकी छन्। यस प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघ (ANFA) रौतहट परिवारप्रति पनि विद्यालयले विशेष धन्यवाद ज्ञापन गरेको छ।

ताजा समाचार

Related Articles