रौतहट१० पुस
मधेश प्रदेशमा सञ्चालित चिनी उद्योगीहरूले उखु खरिदलाई जिल्ला–जिल्लामा सीमित गर्ने निर्णय गरेपछि रौतहटसहितका जिल्लाका उखु किसान आक्रोशित बनेका छन्। उद्योगीहरूको उक्त निर्णयविरुद्ध रौतहटका किसानहरूले आन्दोलनमा जाने घोषणा गरेका छन् ।
रौतहट, बारा, पर्सा र सर्लाही जिल्लामा सञ्चालित चिनी उद्योगहरूले अब आफ्नै जिल्लामा उत्पादन भएको उखु मात्र खरिद गर्ने नीति अपनाएका छन्। यस निर्णयअनुसार एक जिल्लामा उत्पादन भएको उखु अर्को जिल्लाको चिनी उद्योगले खरिद नगर्ने भएपछि किसानहरू आफूले चाहेको उद्योगमा उखु बिक्री गर्नबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ। किसानहरूका अनुसार उद्योगीहरूको यस्तो निर्णय स्पष्ट रूपमा ‘सिन्डिकेट’ हो, जसले किसानको व्यापारिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप गरेको छ। विशेषगरी रौतहटका किसानहरूले अब बारा, पर्सा वा सर्लाहीका चिनी उद्योगमा उखु बिक्री गर्न नपाउने भएपछि उनीहरू आर्थिक रूपमा थप मारमा पर्ने चिन्ता बढेको छ। किसानहरूको गुनासो छ कि खुला बजारको सिद्धान्त विपरीत चिनी उद्योगीहरूले मनोमानी निर्णय थोपरेका छन्, जसका कारण उनीहरूले राम्रो मूल्य र सहज पहुँच भएको उद्योग रोज्न पाउने अधिकार गुमाएका छन् । यस विषयमा प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र प्रसाद यादवले उखु खरिदका नाममा लगाइएको कथित सिन्डिकेट तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। उनले किसानले उत्पादन गरेको उखु जुनसुकै चिनी उद्योगलाई स्वतन्त्र रूपमा बिक्री गर्न पाउने संवैधानिक र व्यापारिक अधिकारमाथि उद्योगीहरूले जबरजस्ती अंकुश लगाउन खोजेको आरोप लगाएका छन ।
किसानहरूले यदि यो निर्णय तत्काल फिर्ता नलिइए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

