रौतहट ९ पुस
समुदाय–प्रहरी साझेदारी (Community–Police Partnership) कार्यक्रम अन्तर्गत रौतहट जिल्लाका विभिन्न स्थानीय तहमा अपराध न्यूनीकरण लक्षित जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट मातहत इलाका प्रहरी कार्यालय पिपरा रजवडा, इलाका प्रहरी कार्यालय कोपवा पिपरिया, प्रहरी चौकी जयनगर, प्रहरी चौकी मठिया तथा अस्थायी प्रहरी पोष्ट जुडीवेलाको संयुक्त आयोजनामा बुधबार साे कार्यक्रम सञ्चालन गरिएको हो ।रौतहटको माधवनारायण नगरपालिका–८, बौधिमाई नगरपालिका–६, ईशनाथ नगरपालिका–६ तथा वडा नं. ४, साथै चन्द्रपुर नगरपालिका–२ असनवाटोल क्षेत्रमा सम्पन्न भएको प्रहरीले जनाएको छ। जनचेतनामूलक कार्यक्रममा सम्बन्धित वडाका स्थानीय भद्रभलादमी, जनप्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा जघन्य तथा सामान्य अपराध न्यूनीकरण, आत्महत्या न्यूनीकरण, जातीय छुवाछुत अन्त्य, महिला हिंसा नियन्त्रण तथा चोरी नियन्त्रणका विषयमा विस्तृत रूपमा छलफल तथा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका क्रममा प्रहरी–समुदायबीचको आपसी सहकार्य, विश्वास र समन्वयलाई अझ सुदृढ बनाउँदै समाजमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो । प्रहरी प्रशासनले यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

