बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि हिंसाको विरोधमा राैतहटकाे दुर्गाभगवतीमा शान्तिपूर्ण प्रदर्शन

रौतहट ९ पुस
बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसात्मक घटनाको विरोधमा रौतहटको दुर्गाभगवती गाउँपालिकामा मंगलबार शान्तिपूर्ण प्रदर्शन सम्पन्न भएको छ।
बंगलादेशका हिन्दु युवक दिपुचन्द्र दासको नृशंस हत्याको विरोधस्वरूप स्थानीय हिन्दु समुदाय, युवा, विद्यार्थी तथा सामाजिक अभियन्ताहरू सडकमा उत्रिएका हुन्। प्रदर्शन आदर्श झा र विकास महतोको नेतृत्वमा सम्पन्न भएको हो।
प्रदर्शनका क्रममा सहभागीहरूले “अल्पसंख्यकको सुरक्षा गर”, “मानवअधिकारको सम्मान गर”, “दिपु दासलाई न्याय दे” जस्ता नाराहरू लगाउँदै बंगलादेश सरकारको भूमिकाप्रति कडा असन्तुष्टि व्यक्त गरेका थिए। पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै हिन्दु अभियन्ता आदर्श झाले बंगलादेशमा पछिल्ला दिनहरूमा हिन्दु तथा अन्य अल्पसंख्यक समुदायमाथि लक्षित हिंसा बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको बताए। धर्म र पहिचानका आधारमा निर्दोष नागरिकको हत्या हुनु सभ्य समाजका मूल्य–मान्यताविरुद्ध भएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायको ध्यान यसतर्फ जानुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै अभियन्ता विकास महतोले बंगलादेश सरकार अल्पसंख्यकको सुरक्षा गर्न असफल भएको आरोप लगाए। राज्य संयन्त्र कमजोर हुँदा वा संरक्षण बिना यस्ता घटनाहरू सम्भव नहुने बताउँदै उनले दिपुचन्द्र दासको हत्यामा संलग्न सबै दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे। प्रदर्शनकारीहरूले नेपाल सरकारलाई पनि यस विषयमा गम्भीर बन्न आग्रह गरेका छन्। कूटनीतिक पहलमार्फत बंगलादेश सरकारसमक्ष औपचारिक आपत्ति जनाई दोषीमाथि कारबाहीका लागि दबाब दिनुपर्ने उनीहरूको माग रहेको छ। प्रदर्शनमा सुरज मिश्रा, दिपु पटेल, रौशन झा, करन दास, मनोज यादव लगायत सयौँको संख्यामा स्थानीय युवा, विद्यार्थी तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो। उनीहरूले यस्ता घटनाले धार्मिक सहिष्णुता र मानवअधिकारको अवस्था कमजोर बन्दै गएको संकेत गरेको भन्दै दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र स्थानीय प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाइएको छ। सहभागीहरूले आगामी दिनमा पनि यस्ता घटनाविरुद्ध निरन्तर आवाज उठाइरहने चेतावनी दिएका छन् ।

ताजा समाचार

Related Articles