राैतहट ९ पुसरौतहटको बृन्दावन नगरपालिका–९ भुसाहा टोलमा १८ वर्षीया तरिमा खातुनको हत्या प्रकरणमा संलग्न आरोपमा पक्राउ परेका दुई जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार लामो समयदेखि ससुराली पक्षबाट यातना भोग्दै आएको भन्दै मृतककी बाबुले मंसिर ९ गते छोरी हराएको उजुरी दिएका थिए। खोजी गर्ने क्रममा ससुराली घरको आँगनमा गाडिएको अवस्थामा तरिमाको शव फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा मृतकका ससुरा शेख महमद अली (७५) र सहोदर दाइ शेख आश महमदलाई पक्राउ गरी अदालतमा पेश गरिएको थियो। अदालतको आदेशपछि दुवै अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

